दर्शकको चाहना पूरा गर्दै मल्टिस्टारर ‘आ बाट आमा २’मा मलिका महत अनुबन्धित, दसैँमा प्रदर्शन हुने



चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को मुख्य अभिनेत्रीका रूपमा मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक तथा निर्माता पन्तले मलिकासँग औपचारिक सम्झौता गर्दै चलचित्रको ‘कास्टिङ लाइनअप’ पूरा गरेका हुन्। यस मल्टिस्टारर प्रोजेक्टमा मलिकाको प्रवेशसँगै चलचित्रका लागि आवश्यक तीनवटै मुख्य अभिनेत्रीको टुङ्गो लागेको छ। यसअघि अभिनेत्रीद्वय रिश्ता गुरुङ र निकिता आचार्य यस चलचित्रमा जोडिसकेका छन्।

विशेषगरी अभिनेता पल शाह र मलिका महतको जोडीलाई पुनः ठूलो पर्दामा सँगै देख्न दर्शकहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए। दर्शकको सोही चाहना र मागलाई सम्बोधन गर्दै निर्माण पक्षले मलिकालाई भित्र्याएको हो। नेपाली र भारतीय सिने जगतका चर्चित अनुहारहरूको जमघट रहने यस चलचित्रमा पल र मलिकाका साथै आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्का जस्ता स्थापित कलाकारहरूको बलियो उपस्थिति रहनेछ।

गत वर्ष बक्सअफिसमा करिब १४ करोडको सानदार व्यापार गर्दै ब्लकबस्टर साबित भएको चलचित्र ‘आ बाट आमा’ कै मूल कथालाई निरन्तरता दिँदै निर्देशक पन्तले यो सिक्वेल निर्माण गर्न लागेका हुन्। यसको कथा तथा पटकथा लेखनको सम्पूर्ण जिम्मेवारी निर्देशक पन्त स्वयंले सम्हालेका छन्। सम्पूर्ण पूर्वतयारी सकेर केही साताभित्रै छायांकन (फ्लोर) मा जाने तयारीमा रहेको यो चलचित्र आगामी दसैँको विशेष अवसर पारेर असोज ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ।

छायांकन सुरु हुनुअगावै चलचित्रले व्यावसायिक रूपमा ठूलो फड्को मारिसकेको छ। निर्माण पक्षले जानकारी गराएअनुसार अमेरिका र क्यानडाका लागि चलचित्रको प्रदर्शन अधिकार (राइट्स) निर्माण घोषणाकै क्रममा महँगो रकममा बिक्री भइसकेको छ। त्यहाँको वितरण अधिकार डोको फिल्म्सले खरिद गरेको हो। त्यसैगरी, नेपालभित्र चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले सुरक्षित गरेको छ। आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने यस ठूलो क्यानभासको चलचित्रमा प्रोडक्सन म्यानेजरको जिम्मेवारी करणसिंह रसालीले सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu