‘प्रसाद’, ‘नोभेम्बर रेन’ जस्ता सफल चलचित्रका निर्देशक दिनेश राउत निर्देशित नयाँ चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४५ सेकेन्डको टिजरमा अभिनेता प्रदीप खड्कालाई विशेष स्थान दिइएको छ । टिजरमा उनी जुम्लाको अति विपन्न युवकको भूमिकामा प्रस्तुत छन् । पिताको पखाईमा रहेको छोरा र उसको गाउँको स्कूलमा शिक्षक बन्ने सपनालाई टिजरमा देखिएको छ ।

प्रदीपको मनछुने अभिनय, भिन्न लुक्स र जुम्लाको खस भाषामा बोलेको संवादले चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने निश्चित छ । ‘प्रकाश’ले प्रदीपको लभर ब्वाईको छवि मेट्न सक्ने देखिन्छ । टिजरलाई बलियो बनाएको अर्को पाटो अभिनेत्री दीया मास्केको लुक्स पनि हो । जुम्लाको मौलिक पहिरनमा प्रस्तुत भएकी उनी टिजरमा निराश र गम्भीर मुद्रामा देखिएकी छन् ।
भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखकलगायतको पनि अभिनय छ । चलचित्रमा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।