आमाको भूमिकामा अभिनय गर्न समस्या छैन : निशा अधिकारी



अभिनेत्री निशा अधिकारी विवाह बन्धनमा बाँधिएर आमा भएपछि चार वर्ष अभिनयबाट टाढा रहिन् । छोरालाई स्कूल पठाउन थालेपछि भने उनले अभिनयमा सक्रियता बढाउन थालेकी छन् । कोरोना महामारीयता उनको हातमा चलचित्र टुटेको छैन । गएको तीन महिनामा उनले दुई चलचित्र ‘म’ र ‘जुलेवी’को छायांकन भ्याइसकेकी छन् भने चाँडै चलचित्र ‘आँखा’मा काम गर्ने तयारीमा छिन् ।

कुनै बेला लिड अभिनेत्रीको रुपमा काम गरेकी निशाले आमा भएपछि चरित्र अभिनेत्रीको प्रस्ताव बढी पाइरहेकी छन् । यसलाई उनले सामान्य रुपमा नै लिएकी छन् । समय अनुसार क्यारेक्टरमा परिवर्तन हुनुपर्ने उनको तर्क छ । पछिल्लो समय मेकरहरुले क्यारेक्टर छनोट फराकिलो बनाएकाले आफूलाई रमाइलो लाग्ने चरित्रमा काम गर्न कलाकारलाई छुट रहेको उनको भनाई छ ।

आफूलाई पर्दामा आमाको भूमिकामा अभिनय गर्न पनि समस्या नभएको उनी बताउँछिन् । उनले भनेकी छन्, ‘मैले बिहे गर्नुभन्दा अगाडि चलचित्र ‘मायाज् बार’मा आमाको भूमिका निर्वाह गरेको थिएँ । बिहे अगाडि त आमाको भूमिकामा काम गर्न समस्या भएन भने अहिले झन् किन हुन्थ्यो र ! ’ बरु, अहिले आफूले चलचित्रमा आमाको भूमिका न्यायपूर्वक निर्वाह गर्न सक्ने उनको विश्वास छ ।

अहिलेसम्म आफ्नो करिअर सुरु नै नभएको निशा बताउँँछिन् । ‘मेरो खास रुचि मेकिङमा हो । मैले चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेपछि बिहे र बच्चा भयो । बीचमा एउटा सर्ट चलचित्र निर्देशन गरेँ । त्यसपछि कोरोना महामारी सुरु भयो । त्यसैले मैले करिअर नै सुरु गर्न पाएको छैन,’ उनी भन्छिन्, ‘मेकरको हिसाबले मलाई जस्तो विषयमा चलचित्र बनाउन मन छ त्यो छुन पनि पाएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu