अभिनेता कार्म शाक्यले अभिनीत चलचित्र ‘अभिन्न’को ‘मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । रञ्जित गजमेरले संगीत भरेको गीतमा राजीव सुनारको स्वर छ । निर्देशक समेत रहेका प्रशान्त रसाइलीले गीतको शब्द लेखेका हुन् । कुकुरलाई च्यापेर बाटोमा माग्दै हिँड्ने एक अपाङ्गको कारुणीक कथालाई गीतमा देखाइएको छ ।

गीतमा कार्म सशक्त चरित्रमा प्रस्तुत छन् भने अभिनय लोभलाग्दो छ । अपाङ्गको भूमिकामा उनले जीवन्त अभिनय गरेका छन् । लकडाउनअघि छायांकन सकिएको ‘अभिन्न’को यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक रसाइलीले बताएका छन् । निर्माण टिमले गीत सार्वजनिक गरेपनि प्रदर्शन मिति भने घोषणा गरेको छैन ।
चलचित्रलाई विभाकर सुन्दर शाक्यले निर्माण गरेका हुन् । लैनसिंह बाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लङ्गडाको साथी’माथि आधारित भएर चलचित्र निर्माण भएको हो । उपन्यासमा दार्जलिङ्ग शहरको बजारमा डुली हिँड्ने एक अपाङ्ग व्यक्तिले भोग्नु परेको कारूणीक कहानी र उसलाई सहयोग गर्ने एउटा कुकुरको चरित्र उतारिएको छ ।