फुर्पाले बोली फेर्दै भने- ‘मिरुना मगरलाई बचाउन गल्ती नभए पनि माफी मागेँ’



अभिनेत्री मिरुना मगरले आइतवार सिभिल मलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै फुर्पा तामाङलाई थप्पड हानिन् र प्रहरीको जिम्मा लगाइन् । मिरुनाले थप्पड हानेको भिडियो बाहिर आएपछि उनको विरोध हुन सुरु भयो । ‘कबड्डी ४’लाई बहिष्कार गर्नेसम्मको कुरा उठेपछि बुधवार तामाङलाई प्रहरीबाट छुटाइयो । सोही साँझ मिरुना र फुर्पाले प्रत्यक्ष भेटेर मिलापत्रमा हस्ताक्षर गरे ।

फुर्पाले गल्ती स्वीकार गरेर माफी मागेको र मिरुनाले पनि भाई सम्झेर माफी दिएको मिलापत्रमा उल्लेख छ । तर, उनीहरुबीच मिलापत्र भए पनि विवाद भने सेलाउने छाँटकाँट देखिएको छैन । एकथरीले ‘कबड्डी ४’को व्यापारमा असर नहोस् भन्नका लागि दुर्व्यवहार जस्तो घटना मिलापत्रमा टुंग्याएकोमा आपत्ति जनाएका छन् भने अर्काथरीले फुर्पा तामाङलाई विना गल्ती थप्पड हानेको भन्दै मिरुनालाई गालीगलौज गरिरहेका छन् ।

यसैक्रममा, आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका फुर्पाले बोली फेरेका छन् । शुक्रवार एक व्यक्तिसँग फेसबुक लाइभमा बोल्ने क्रममा उनले मिरुना मगरलाई बचाउन आफ्नो गल्ती नै नभए पनि माफी मागेको बताएका छन् । उनले भनेका छन्, ‘पत्रमा गलत बुझाईका कारण घटना घटेको भनेर लेख्न खोजिएको थियो । तर, हिरोइनले यस्तो लेख्दा मान्छेहरुले नराम्रो भन्छन्, मलाई बचाउनुस् भनेर रोएपछि मेरो गल्ती नै नभए पनि मैले माफी मागेको भनेर पत्र बनाइयो ।’

बाहिरतिर ‘कबड्डी ४’को प्रदर्शन रोक्नुपर्ने माग र हिरोइनलाई धेरैले नराम्रो भन्न थालेकाले त्यस्तो नहोस् भन्नका लागि आफूले माफी पत्रमा हस्ताक्षर गरेको उनको भनाई छ । उनले हलमा मिरुना मगरमाथि आफूले दुर्व्यवहार नगरेको पनि स्पष्टिकरण दिएका छन् । फोटो खिचेर घुम्ने क्रममा भीड ठूलो भएकाले धकेलाधकेलमा आफ्नो हात मिरुना मगरसँग ठोक्किन पुगेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘हलमा चलचित्र हेरेर बाहिर निस्कँदा कलाकारहरु आउनुभएको रहेछ । मलाई पनि एकदमै फोटो खिच्न मन लाग्यो । सेलिब्रेटीहरुसँग फोटो खिच्ने पाइरहँदै भनेर म पनि फोटो खिच्न भीडमा पसेँ । त्यसैबेला हिरोइन (मिरुना मगर) लाई देखेँ । मैले उहाँसँग फोटो खिचेर घुम्ने क्रममा भीडले गर्दा धकेलाधकेल भएको थियो । त्यसबेला मेरो हातले उहाँको शरीरमा छुन पुग्यो ।’

मिरुना मगरले अचानक थप्पड हानेपछि आफू निकै डराएको बताउँदै उनले अगाडि भनेका छन्, ‘थप्पड हानेपछि उहाँले माफी माग्न भन्नुभयो । सबैले मतिर हेरिरहेकाले म डराएँ र तीन पटक सरी भनेँ । उहाँले थप्पड हानेपछि मलाई लाज लागेको थियो । अनि, म हलबाट साथीहरुसँग बाहिर निस्कँदै थिएँ त्यहीबेला मलाई प्रहरीले समात्यो । प्रहरीले मलाई थुनामा कुटपिट चाहिँ गरेन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu