चलचित्रमा डेब्यू गर्न स्क्रिप्ट पढ्दै नीति



मिस नेपालको प्लेटफर्मबाट जन्मिएकी नीति शाहलाई चलचित्रबाट अफर पुग्न थालेको लामो समय भइसकेको छ । निर्माता भुवन केसीले सबैभन्दा अगाडि उनलाई चलचित्र ‘ड्रिम्स’ अफर गरेका थिए । तर, उनले काम गर्ने इच्छा देखाइनन् । यसपछि प्रदीप खड्काले चलचित्र ‘प्रेमगीत ३’ अफर गरे । यो चलचित्र पनि उनले गरिनन् । प्रदीपकै अर्को चलचित्र ‘हुतुतु’बाट पनि उनलाई अफर पुगेको थियो ।

अब भने नीतिले राम्रो ब्यानरबाट चलचित्रमा डेब्यू गर्ने मनस्थिति बनाएकी छन् । यसैका लागि उनले म्यानेजरको रुपमा निराजन गिरीलाई नियुक्त गरेकी छन् । निराजनले यसअघि लामो समय अभिनेता अनमोल केसीको म्यानेजरको रुपमा काम गरिसकेका छन् । अहिले नीति शाहले केही चलचित्रको स्क्रिप्ट अध्ययन गरिरहेको र २०७९ भित्रै डेब्यूको सम्भावना प्रवल रहेको उनले बताए ।

उनले भने, ‘उहाँले मोडलिङ सुरु गर्नुभएकै १० वर्ष भइसकेको छ । बीचमा धेरै चलचित्रबाट अफर आउँदा ‘यसका लागि अहिले म कन्फिडेन्ट छैन’ भनेर पछाडि हट्नुभयो । अब चाहिँ उहाँ चलचित्रमा डेब्यू गर्नका लागि सकारात्मक हुनुहुन्छ । केही चलचित्रको स्क्रिप्ट पढिरहनुभएको छ तर कसैलाई ‘ओके’ भनिसकेको छैन । १० वर्ष पर्खिसकेकाले चलचित्र छनोट गर्न उहाँ हतार गर्ने पक्षमा हुनुहुन्न ।’

नीतिले चलचित्र छनोट गर्दा ब्यानर, स्क्रिप्ट र को-एक्टरमा विशेष ध्यान दिने निराजनको भनाई छ । ‘उहाँले को-एक्टरमा पनि अहिलेको चलेकै अभिनेतासँग काम गर्ने इच्छा देखाउनुभएको छ । केही समयमा उहाँले काम गर्ने डेब्यू चलचित्रको बारेमा निधो लाग्न सक्छ,’ उनले भने । नीतिले चलचित्रमा डेब्यूका लागि केही समयदेखि जिमदेखि डान्स क्लास लिइरहेको पनि निराजन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu