चलचित्र ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेब्यू गर्ने भएका छन् । चलचित्रको मुख्य भूमिकामा उनले अभिनय समेत गर्दैछन् । ओस्कार कलेजबाट चलचित्र मेकिङमा ब्याचलर गरेका उनी अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ‘शमशेर’को स्क्रिप्ट राम्रो भएकाले आफूले निर्देशनमा डेब्यू गर्न लागेका उनले बताए ।
आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडि बढाउने सोचमा राउत छन् । उनी अभिनीत पहिलो चलचित्र ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । मनिषले अहिले ‘शमशेर’को लागि अभिनेत्री छनोट कार्य भैरहेको बताएका छन् । यस्तैमा, चलचित्रमा अभिनेता सुनिन थापा थपिएका छन् ।

चलचित्रमा प्रकाश शाह, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुलीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने चलचित्रमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ । अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर चलचित्रको सुटिङ थाल्ने तयारीमा मनिष छन् ।
चलचित्रको काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा छायांकन हुनेछ । सीबर्ड्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने चलचित्रको पोस्टर डिजाइनरमा राकेश दाहाल छन् । चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ । निर्माण टिमले मनिषसहित प्रकाश, गौरव, हिमेश र सुमनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको छ ।