दिनेश डिसीको निर्देशनमा चलचित्र चलचित्र ‘सर्वजित’ निर्माण हुने भएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्रको मुहूर्त गरे । दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित भएर चलचित्र बन्नेछ । चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजको ६ वर्षपछि दिनेश डिसी चलचित्र निर्देशनमा फर्किएका हुन् ।
निर्देशक डिसीले भने, ‘पहिला यो डकुमेन्ट्री बनाउने तयारी गरेका थियौं । तर, पछि मैले सर्वजीत ज्युको जीवनी थाहा पाएपछि यसलाई चलचित्रमै ल्याउनु पर्छ भनेर जुटेका हौँ ।’ भगत सर्वजित विश्वकर्माले १९९७ सालमा विश्व सर्वजन नामक संगठन स्थापना गर्दै सांगठनिक रूपमै दलित आन्दोलनको सुरुवात गरेका थिए । १९५० सालमा जन्मिएका सर्वजित सानैदेखि विद्रोही स्वभावका थिए ।

नेपालमा लैंगिक तथा जातीय विभेदको विरुद्धमा कार्य गर्दै आएको दलित महिला केन्द्रले चलचित्र निर्माण गर्न लागेको हो । मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने चलचित्रमा रणेन्द्र बराईलीको कथा, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा, एनबी महर्जनको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन र एलिश कार्कीको पार्श्व संगीत रहनेछ ।
बाग्लुङ्ग, पाल्पा, पोखरा, काठमाडौं र बनारसमा छायांकन हुने चलचित्रको सुटिङ भदौ अन्तिमबाट सुरु हुनेछ । चलचित्रका लागि कलाकारहरु भने फाइनल भइसकेका छैनन् । चलचित्रको मुहूर्त कार्यक्रममा उपस्थित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब चलचित्र निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।