नेपाल चलचित्र संघको अध्यक्षमा विरेन्द्र नारायण श्रेष्ठ



नेपाली चलचित्र क्षेत्रको सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघको अध्यक्षमा विरेन्द्र नारायण श्रेष्ठ निर्विरोध चयन भएका छन् । शनिवार भएको संघको ४७औं साधारण सभाबाट उनी अध्यक्षमा चुनिएका हुन् । नारायणगढको जलमा सिनेमा हल, परासीस्थित बिस्कुट र पेपर मिल उद्योगका सञ्चालक समेत रहेका श्रेष्ठले आगामी तीन वर्ष संघ हाँक्नेछन् ।

अध्यक्षसहित १३ जना सदस्य पनि साधारण सभाले चुनेको छ । सदस्यहरुमा गोपालकाजी कायस्थ, गोविन्द शाही, कपिल प्रसाद द्वा, राजकुमार श्रेष्ठ, ओम जैसी, नरेन्द्र महर्जन, कुवेर शर्मा, भास्कर ढुंगाना, प्रज्वल शमशेर जवरा, नीरज कार्की, सुरेन्द्र कुमार थापा, चैतन्य बराल र युवराज प्रसाईं निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित सदस्यहरुबाट नै कार्यसमिति पधाधिकारी चयन गर्ने संस्थाको विधान रहेको छ । श्रेष्ठ नेतृत्वको पहिलो बैठकले निर्विरोध चयन भएका सदस्यहरुलाई कार्य विभाजन गर्नेछ । संघको साधारण सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका पर्यटनमन्त्री प्रेम बहादुर आलेले चलचित्रले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग गर्ने भएकाले चलचित्रकर्मीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए ।

उनले भने- ‘चलचित्र क्षेत्रको विकास र विस्तारका लागि हुने काममा पर्यटन मन्त्रालयले सधैं हातेमालो गर्नेछ । चलचित्रकै माध्यमबाट मानिसहरुले विदेशका विभिन्न ठाउँ घुम्ने योजना बनाउँछन् । नेपालको पर्यटन प्रवद्र्धनमा पनि चलचित्रले सघाउ पुर्‍याएको छ । छायांकन गर्ने क्रममा कुनै समस्या आयो भने भन्नु होला म तुरुन्तै समाधान गर्नेछु र मैले सहकार्य गर्ने ठाउँमा सहकार्य पनि गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu