प्रदीप भन्छन्, ‘कलाकारको हिसाबले मेरो लागि ‘प्रकाश’ विशेष छ’



अभिनेता प्रदीप खड्काले अभिनय गरेको चलचित्र ‘प्रकाश’ आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी जुम्लाको एक अति विपन्न परिवारको संघर्षशील युवकको भूमिकामा प्रस्तुत छन् । गत हप्ता सार्वजनिक भएको चलचित्रको टिजरमा प्रदीपको चकलेटी लुक्स हराएको छ । उनले बाँचेको चरित्रमा भूईंमान्छे जीवनबाट उठेका हरेक मानिसले आफ्नो संघर्षको कथा भेट्छन् ।

प्रदीपले आइतवार सामाजिक सञ्जालमा आफू प्रस्तुत भएको ‘प्रकाश’को एक पोस्टर सार्वजनिक गर्दै आफ्नो लागि यो चलचित्र कलाकारको हिसाबले विशेष रहेको उल्लेख गरेका छन् । यस चलचित्रमा काम गर्ने क्रममा कला र कलाकारिताप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको र चलचित्र क्षेत्रमा केही स्थान बनाउन गरेको सङ्घर्षको नतिजाको रुपमा ‘प्रकाश’लाई लिएको उनको भनाई छ ।

उनले लेखेका छन्, ‘एउटा पात्रमार्फत् सम्पूर्ण कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनालाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्रको कार्यशालामा कैयौँ दिनहरु विताएको छु । एउटा कलाकारले पात्र र कलाकारितालाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नयाँ आयाम थपिएको छ ।’

दिनेश राउत निर्देशित चलचित्रमा प्रदीपका अलावा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखकलगायतको पनि अभिनय छ । महेन्द्र अधिकारी निर्मित चलचित्रमा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu