सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति दुई साता अगाडि सरेको छ । यसअघि भदौ २४ गतेलाई प्रदर्शन मिति तोकिएकोमा मंगलवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रको पोस्ट प्रोडक्सनको काम सकिएकाले चलचित्रलाई दुई साता अगाडि नै प्रदर्शन गर्न लागिएको निर्देशक थापाले बताए ।

सार्वजनिक पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठको चरित्र चित्रण गरिएको छ । घाँस काट्ने क्रममा खेतको गरामा बच्चालाई काखमा बोकेर खुशी मुद्रामा देखिएकी उनी चलचित्रमा गाउँको एक विपन्न र एकल आमाको भूमिकामा रहेको पोस्टरबाट सहजै अनुमान गर्न सकिन्छ । उनको लुक्सले चलचित्रप्रति कौतुहलता बढाउन सफल छ । उनी पहिलो पटक गाउँले चरित्रमा प्रस्तुत हुन लागेकी हुन् ।
चलचित्रमा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई निर्देशक थापासँग मिलेर सौगात मल्लले निर्माण गरेका हुन् । चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।