शोभितले ‘डाँडाको वरपीपल २’ बनाउने



गत वर्षको असोज २६ गते प्रदर्शन भएको शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपीपल’को व्यापारमा ‘महानायक’ विवादले ठूलो असर गर्‍यो । चलचित्रको एक गीत सार्वजनिक कार्यक्रममा निर्देशक बस्नेतले अभिनेता भुवन केसीलाई ‘महानायक’को उपाधि दिएपछि यो विषयमा उब्जिएको विवादले चलचित्र हेर्न हलमा चरोमुसो पुगेन । अन्ततः चलचित्र पत्तासाफ भयो ।

यसै साता बुढासुब्बाको यूट्युबमा चलचित्र सार्वजनिक भएको छ । यूट्युबमा चलचित्रको भ्यूज आक्रामक छ । यूट्युब रिलिजको ३ दिनमा चलचित्रलाई १६ लाख बढीले हेरिसकेका छन् भने २ हजार बढी कमेन्टमा अधिकांशले प्रशंसामा शब्द खर्चिएका छन् । कलाकारको अभिनय र कथावस्तुको प्रशंसा बढी भएको छ । सिक्वेलको माग गर्ने दर्शकको संख्या पनि ठूलो छ ।

यूट्युबमा चलचित्रले पाएको भ्यूज र प्रतिक्रियाबाट उत्साहित भएर निर्देशक बस्नेतले ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने घोषणा गरेका छन् । उनले भने, ‘विभिन्न कारणले ‘डाँडाको वरपीपल’ हलमा राम्रो चल्न सकेन । तर, यूट्युबमा चलचित्रलाई जुन खालको प्रतिक्रिया आएको छ त्यसबाट उत्साहित छु । अधिकांश दर्शकले दोस्रो पार्ट बनाउन आग्रह गरेकाले पनि सिक्वेल बनाउने घोषणा गरेको हुँ ।’

‘डाँडाको वरपीपल’ बनाउँदा नै सिक्वेलको परिकल्पना गरेको निर्देशक बस्नेतले बताए । उनले अगाडि भने, ‘सिक्वेल बनाउने भनेरै हामीले चलचित्रको अन्त्य गरेका छौं । तर, हलमा राम्रो नचलेपछि सिक्वेल बनाउने मनस्थितिमा हामी थिएनौं । यूट्युब प्रतिक्रियाबाट भने सिक्वेल बनाउनका लागि जोश आएको छ ।’ आफू चाँडै निर्माण कम्पनी बुढासुब्बासँग छलफलमा बस्ने शोभितको भनाई छ ।

उनी ‘डाँडाको वरपीपल’को सिक्वेलमा अघिल्लो पार्टकै प्रमुख कलाकारहरु शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत र रुविना थापालाई दोहोर्‍याउने सोचमा छन् । तर, अहिलेसम्म कुनै कलाकारसँग सिक्वेलको बारेमा कुरा नभएको शोभितले बताए । उनी ‘डाँडाको वरपीपल २’ बुढासुब्बासँग मिलेर वा एक्लै निर्माण गर्न पनि तयार देखिएका छन् । यसबारेमा केही दिनमा टुंगो लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu