‘खलंगामा हमला’ कृतिमाथि चलचित्र निर्माण हुने



राधा पौडेलद्वारा लिखित मदन पुरस्कार प्राप्त गरेको कृति ‘खलंगामा हमला : जुम्ला अ नर्स स्टोरी’माथि चलचित्र निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । विनोद विष्टले चलचित्रको निर्देशन गर्नेछन् । उनले यसअघि झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’माथि चलचित्र बनाएका थिए ।

चलचित्र घोषणा कार्यक्रममा निर्देशक विष्टले अब स्क्रिप्ट लेखन सुरु गरेर आगामी वर्ष छायांकनमा निस्कने योजना रहेको बताए । उनले भने, ‘अहिले हामी एकदमै सुरुवाती अवस्थामा छौं । स्क्रिप्टलाई अन्तिम रुप दिन करीब ८/९ महिना लाग्न सक्छ । लेखिका राधा पौडेलसँग नै बसेर हामी स्क्रिप्टलाई फाइनल गर्नेछौं । त्यसपछि कलाकार र प्राविधिक छनोट गरेर छायांकनमा निस्कने छौं ।’

किताबमाथि चलचित्र बनाउँदा किताबभन्दा बाहिर निस्कन नमिल्ने भएपनि ‘खलंगामा हमला’ले आफैंमा सिनेम्याट्रिक कथा भनेको उनको भनाई छ । पुस्तकमा भएको कुरालाई न्यायपूर्वक चलचित्रमा उतार्न आफूले प्रयास गर्ने निर्देशक विष्ट बताउँछन् । राधा पौडेलको जीवनमा ३० वर्षअघि घटेको घटना भएकाले पौडेलको चरित्रमा राम्रो फेस भ्यालु भएको कलाकार राख्ने उनले बताए ।

त्यस्तै, कृतिकी लेखिका पौडेलले ‘खलंगामा हमला’माथि चलचित्र बनाउन यसअघि केही नेपाली र विदेशी मेकरले प्रस्ताव राखेको भएपनि झमक घिमिरेको कृतिमाथि चलचित्र बनाइसकेका कारण निर्देशक विष्टप्रति आफ्नो सम्मान र विश्वास बढेकाले चलचित्र बनाउन अनुमति दिएको बताइन् । उनले चलचित्रको स्क्रिप्ट लेखनदेखि छायांकनसम्म आफू उपस्थित रहने पनि जानकारी गराइन् ।

२०५७ कात्तिक २७ गते राति माओवादीका लडाकुहरुले जुम्लाको सदरमुकाम खलंगमा आक्रमण गरेका थिए । त्यस समयमा राधा पौडेल जुम्लास्थित जिल्ला स्वास्थ्य कार्यालयमा नर्सको रुपमा कार्यरत थिइन् । भिषण आक्रमणको क्रममा गोली आफ्नो कोठामा छिरेको सन्दर्भलाई पौडेलले पुस्तकमा उतारेकी छन् । ३ करोडको लागतमा बन्ने चलचित्रको जुम्ला र चितवनमा छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu