अष्ट्रेलियामा बसेर पैसा कमाउनका लागि नेपालीले गर्ने संघर्षको कथामा चलचित्र ‘डलर एयूडी’ निर्माण हुने भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको घोषणा गरियो । देवकुमार श्रेष्ठको निर्देशन गर्ने चलचित्रलाई सन्तोष अधिकारीले निर्माण गर्नेछन् । सन्तोषले यसअघि ‘आमा’ चलचित्र निर्माण गरेका थिए । चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ ।
चलचित्रमा अभिनेता अर्पण थापा, अभिनेत्री मेनुका प्रधान र निर्माता अधिकारीको मुख्य भूमिका रहनेछ । ‘म्यारिज प्रपोजल’, ‘लुक ब्याक इन एंगर’, ‘कोही किन बर्बाद होस्’, ‘पूर्णिमा’, ‘आजै थालौँ’ लगायत कयौं सफल नाटकका निर्देशक चे शंकरले चलचित्रको पटकथा लेखेका हुन् । केही दिनमा कार्यशाला सुरु गरेर असार अन्तिमबाट छायांकन थालनी गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए ।
अर्पण थापा ‘डलर एयूडी’लाई एउटा नौलो कोशिश भन्न रुचाउँछन् । उनले यो चलचित्रले चलचित्र क्षेत्रमा केही नयाँ कुरा दिने विश्वास व्यक्त गरे । त्यस्तै, निर्माता अधिकारीले चलचित्रको कथाले अष्ट्रेलियामा बस्दै आएका र नेपालबाट जान लागेका नेपालीलाई छुने बताए । एएसएपी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई अष्ट्रेलियापछि नेपालमा रिलिज गर्ने निर्माण टिमको योजना छ ।