अभिनेता नवल खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १२ सेकेन्डको टिजर एक्सनले भरिएको छ । नेपाल र भारतको सीमा विवादको मुद्धालाई चलचित्रले उठाएको टिजरले प्रस्ट्याउँछ । साउथ इन्डियन चलचित्रको शैलीमा तयार पारिएको टिजरमा नवल एक्सन अवतारमा प्रस्तुत छन् । टिजरले चलचित्रप्रति कौतुहलता जगाउने देखिन्छ ।

नवल स्वयंको निर्माण तथा लेखन रहेको चलचित्रमा उनीसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ । मणि थापा र दीपक शर्माको संगीत रहेको चलचित्रको छायांकन सौरभ लामाले गरेका हुन् ।
श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको चलचित्रमा नवल खड्कासँगै माकिको राई र अञ्जु केसी निर्माताको रुपमा छन् भने कार्यकारी निर्माता नवलकी श्रीमती तथा गायिका सत्यकला राई हुन् । चलचित्रको टिजर सार्वजनिक भएपनि प्रदर्शन मिति घोषणा गरिएको छैन ।