‘सिल्ली फो’ले दर्शकलाई नयाँपन दिन्छ : केकी अधिकारी



अभिनेत्री केकी अधिकारीले अभिनय गरेको नयाँ चलचित्र ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनले कोरोना महामारीको समयमा यो चलचित्रमा अभिनय गरेकी थिइन् । कमेडी जनरामा निर्माण भएको चलचित्रमा उनले संघर्ष गरिरहेको एक युवतीको भूमिका निर्वाह गरेकी छन् । चलचित्रले दर्शकलाई नयाँपन र फरक स्वाद दिने उनको विश्वास छ ।

आइतवार चलचित्रको बारेमा जानकारी दिने उद्देश्यले आयोजित एक कार्यक्रममा केकीले भनिन्, ‘चलचित्रमा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेको एक युवतीको हो । पात्रको संघर्षले मलाई मेरो संघर्षको दिनहरु याद दिलायो । हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले चलचित्रमा अभिनय गर्न धेरथोर सहज भयो ।’ चलचित्रको कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गरेको उनको भनाई छ ।

निर्देशक राजबहादुर सानेले ‘सिल्ली फो’बाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । यो चलचित्रबाट सिकेको कुरा भोलीका दिनमा राम्रो चलचित्र बनाउन सहयोग पुग्ने उनको भनाई छ । उनले भने, ‘मैले कमेडी जनरामा पहिलो पटक हात हालेको हुँ । यो चलचित्रले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु । चलचित्रले नेपाली समाजभित्रको वास्तविक कथा भन्छ ।’

कलाकार द्वय राजाराम पौडेल र रविन्द्र झाले चलचित्रमा अभिनय गर्दा रमाइलो भएको अनुभव साट्दै चलचित्र राम्रो बनेको दाबी गरे । चलचित्रमा धिरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतको पनि अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको चलचित्रका सह-निर्माता विशाल श्रेष्ठ हुन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । चलचित्रलाई सुनील मानन्धरको कम्पनी श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu