‘कबड्डी ४’ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी दर्ता



प्रदर्शनरत चलचित्र ‘कबड्डी ४’ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एक व्यक्तिले उजुरी दिएका छन् । सोमवार रोविन कुमार लामाले चलचित्रविरुद्ध उजुरी दर्ता गराएका हुन् । उनले चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दिएको उजुरीमा चलचित्रको प्रदर्शन तत्काल रोक्न माग गरिएको छ ।

लामाले बौद्ध धर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएकोले चलचित्रको प्रदर्शन तत्काल रोक्न र दृश्य र शब्द काँटछाँट गर्न माग गरेका छन् । चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरुले बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मान मर्यादामा गम्भीर हानी नोक्सानी पुर्‍याएको लामाले दिएको उजुरी पत्रमा उल्लेख छ ।

उजुरीमा भनिएको छ, ‘चलचित्रको कथामा केटी अकैले भगाएपछि काजीले विवाह गर्न सम्भव नभएर निरासापनले लामा भिक्षु बनेको देखिन्छ । वास्तवमा लामा भिक्षु निराश भएर होइन, वैराग भएर बन्ने गरिन्छ । अर्थात् केटी नपाएर मन दुखाएर लामा (भिक्षु) बन्न जाने होइन वैराग जागेर लामा (भिक्षु) बन्ने हो । लामा बनेर मान्छे कुटेर हिंसा गर्ने बौद्ध धर्म सिद्धान्त मान्यता विपरित कार्य हो ।’

‘कबड्डी ४’मा दयाहाङ राई वैराग्य जागेर बौद्ध भिक्षु बनेको दृश्य समावेश छ । चलचित्रमा बौद्ध भिक्षुको भेषमा उनले कलाकार द्वय विजय बराल र बुद्धि तामाङलाई कुटेको दृश्य पनि छ । यसअघि चलचित्रकी अभिनेत्री मिरुना मगरलाई एक बौद्ध भिक्षुले हलमा ब्याड टच गरेको घटनाले ठूलो रुप दिएको थियो । अब चलचित्रको कथावस्तु र दृश्यप्रति आपत्ति जनाउँदै प्रशासन कार्यालयमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu