जेठ १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ले सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको छ । प्रदर्शनको दुई हप्तामा १८ करोड ७८ लाख कमाएको दाबी गरिएको चलचित्रले तेस्रो हप्ताको सप्तान्हसम्म २० करोडमाथि कमाई गरेको निर्माण पक्षले जानकारी दिएको छ । मंगलवार सर्वाधिक कमाई गर्ने चलचित्र भन्दै निर्माण टिमले २० करोड लेखिएको एक पोस्टर जारी गरेको छ ।

नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने चलचित्रको रेकर्ड ‘छक्का पञ्जा ३’को नाममा थियो । यो चलचित्रले २० करोड कमाएको दाबी दीपकराज गिरीले गरेका थिए । अब २० करोडभन्दा बढी कमाउँदै ‘कबड्डी ४’ सर्वाधिक कमाई गर्ने पहिलो नेपाली चलचित्र बनेको छ । ‘कबड्डी ४’लाई ‘कबड्डी’ ब्रान्डको अन्तिम सिरिज भनेर प्रचार गरिएकाले चलचित्रले आक्रामक कमाई गरिरहेको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको अभिनय छ । चलचित्रको कथा रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । यो चलचित्र प्रदर्शनमा आएसँगै विभिन्न विवादमा पर्दै आएको छ ।