चर्चित गायिका इन्दिरा जोशीले विवाह गरेकी छन् । मंगलबार चितवनको मेघौलीमा रहेको बाराही जंगल लजमा उनले प्रेमी शरद केडियासँग विवाह गरेकी हुन् । उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइको मात्र उपस्थिति रहेको थियो ।

इन्दिराले आफ्नो इन्स्टाग्राममार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘अब हामी आधिकारिक रुपमा श्रीमान्-श्रीमती भयौं ।’ आइतबार बिहेको कार्ड सार्वजनिक गर्दै इन्दिराले मंगलवार शरदसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । विवाहअघि शरदसँग इन्दिरा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । शरद पेशाले फेसन डिजाइनर हुन् ।
गत वर्ष सगरमाथा आधार शिविरमा भएको माउन्ट एभरेस्ट फेसन रनवेमा सहभागी हुने क्रममा शरदले इन्दिरालाई विवाहको प्रस्ताव राखेका थिए । इन्दिराले पनि विवाह प्रस्ताव स्वीकार गरेकी थिइन् । चलचित्र ‘लुट’को ‘उध्रेको चोली छ है’ गीतबाट चर्चामा आएकी इन्दिराको ‘म त मर्छु कि क्या हो’, ‘मोटरसाइकलमा’, ‘रेलिमाई’, ‘चौबन्धी चोली अनि रातो घाँगर’ जस्ता गीतहरु लोकप्रिय छन् ।