‘फूलको आँखा’मा गायिका आनी छोइङ डोल्माले ६ वर्षपछि सांगीतिक कन्सर्ट गर्ने भएकी छन् । ‘हिल द अर्थ’ नाम दिइएको कन्सर्ट यही जुन २५ मा साढे चार बजे जावलाखेलमा रहेको सेन्ट मेरी मा.विमा आयोजना हुने बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइयो ।
मनोज सिंह जस्ता नेपाली संगीत क्षेत्रका कुशल संगीतकारहरूको समुह नेवा (नेपालबाट पहिलो ग्रामी मनोनीत), सञ्जय श्रेष्ठ (१९७४ ईस्वी), गोपाल रसाइली, प्रज्वल लामा र एल.बोनी चक्रवर्ती लगायत पनि कन्सर्टको टिममा छन् ।
आनी भन्छिन्, ‘हामी सबै विश्वव्यापी महामारी, उथलपुथल र द्वन्द्वको प्रभावसँग जुधिरहेका छौं र हामी सबैलाई आन्तरिक उपचार चाहिएको छ । यस विशेष कार्यक्रममार्फत् हामीले यो सन्देश पठाउने लक्ष्य राखेका छौं कि आशा र दयाले हामीलाई हाम्रो भित्री आत्मासँग पुनः जोड्न मद्दत गर्नेछ ।’
कन्सर्टको प्रायोजकमा सानिमा बैंक, ब्रिटिश कलेज, इसेवा, फोन पे, काठमाडौं ज्याज कन्जर्वेटरी, सेन्ट मेरी स्कूल, हिमालयन टाइम्स लगायत छन् भने कन्सर्टको लागि अनलाइन टिकट इसेवाबाट काट्न मिल्नेछ । कन्सर्टको आम्दानी आनीको फाउन्डेसनबाट आगलागी पीडितहरूलाई सहयोग गरिने बताइएको छ ।