अभिनेत्री दीया मास्के अभिनीत नयाँ चलचित्र ‘प्रकाश’ आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा उनले जुम्लाको एक विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । बुधवार उनले फेसबुकमा आफू फिचर ‘प्रकाश’को एक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा आफूले सीताको चरित्र निर्वाह गरेको जानकारी दिएकी छन् । यो पोस्टर शेयर गर्दा मन ढक्क फूलेको उनको भनाई छ ।
उनले लेखेकी छन्, ‘चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि गहिराई आउन थालेको छ । महिला पात्रहरु विस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, चलचित्र न्यारेटिभको अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो ‘प्रकाश’ चलचित्रको प्रतिनिधि पात्र ‘सिता’। उनले दीयाबाट सीता बनिरहँदा छायांकन स्थलमा रहेर जुम्लाको भाषा सिक्न र त्यहाँको रहनसहनसँग बानी पार्न सजिलो नभए पनि कठिन महशुस पनि नभएको उल्लेख गरेकी छन् ।

गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु रहेको उनको तर्क छ । अभिनेत्री मास्के अगाडि लेखेकी छन्, ‘कथा छनौट र त्यसको उठानमा नै मिहिनेत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिले काहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतित हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ ।’
चलचित्रमा आफूले गरेको कामको बारेमा अहिले नै बोल्ने हतार हुने भए पनि एकपछि अर्को सशक्त भूमिकाद्वारा फिल्मलाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरुलाई आख्यानमा स्थापित गर्न थलिएकोमा खुशी व्यक्त गर्दै उनले अब नेपाली चलचित्रमा कलाकारहरु बन्नका लागि राम्रो समय आएको बताएकी छन् । सार्वजनिक पोस्टरमा उनी जुम्लेली लुक्समा प्रस्तुत छिन् भने काँधमा हलो र जुवा बोकेर देखिएकी छन् । चलचित्रमा उनी अभिनेता प्रदीप खड्काको आमाको भूमिकामा छिन् ।
चलचित्रमा रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक, निरज पन्थीलगायतको पनि अभिनय छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ जस्तो उत्कृष्ट चलचित्र पस्किसकेका दिनेश राउत निर्देशित फिल्ममा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।