सुवर्ण थापाको निर्देशनमा तयार भएको चलचित्र ‘म’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार निर्माण टिमले एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी साउन २० गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि जेठ २० गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिए पनि विभिन्न कारणले प्रदर्शनमा आउन सकेको थिएन । चलचित्रको यही शनिवार टिजर सार्वजनिक हुँदैछ ।

चलचित्र सम्बन्धि अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा तयार भएको चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ ।
यो चलचित्रबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । उनीहरु कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी हुन् । प्रकाश पुरीको कथा तथा पटकथा रहेको फिल्ममा तेन्जीङ्ग पाल्देनको छायांकन, बनिष शाहको सम्पादन, मुकेश शाहको साउन्ड डिजाइन छ । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा चलचित्रले भन्ने निर्देशक थापाको भनाई छ ।