अमृत गुरुङको स्वरमा ‘दोख’को ‘वन चरी उड्यो’ गीत सार्वजनिक



रंगकर्मी अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ । गुरुङले चलचित्रमा गाएको यो पहिलो गीत हो । कवि तथा गीतकार श्रवण मुकारुङको शब्द रहेको गीतमा आभाषको संगीत छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक गुरुङले भने, ‘चलचित्रमा गीत गाउँदिनँ भनेर बसेको थिएँ । नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि गीत गाएको हुँ ।’ गायक गुरुङ र निर्देशक बराल स्कूले साथी हुन् । गीतले चलचित्रको आवरण बोलेको छ । चलचित्रका अधिकांश कलाकारलाई गीतमा प्रस्तुत गरिएको छ । ‘वन चरी उड्यो’ गीत लाइभ रेकर्डिङ गरिएको जानकारी दिइयो ।

असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा राजन कठेतले लेखेका हुन् । माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी चलचित्रका निर्माता हुन् । शैलेन्द्र डि. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu