र्याप गायनमा ठूलो नाम बनाएका बालेन्द्र शाह (बालेन) ५ वर्षका लागि देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयर बनेसँगै आइतवार उनले राष्ट्रिय सभागृहमा ११औं नगरसभा अधिवेशनमा आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उनले चुनावी मैदानमा होमिँदै गर्दा आफूले गरेका वाचाहरुलाई नीति तथा कार्यक्रममा समेटेका छन् ।

मेयर पदमा उम्मेदवारी घोषणा गर्दा उनले चलचित्र तथा नाटकको सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने बताएका थिए । त्यसअनुरुप उनले नीति तथा कार्यक्रममा महानगरको संस्कृति, सम्पदा, सभ्यता तथा पर्यटन प्रवर्द्धनका लागि निर्माण हुने चलचित्र, नाटकजस्ता विधामा निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गर्ने घोषणा गरेका छन् । उनको यो घोषणाले चलचित्र क्षेत्रमा खुशी छाएको छ ।
बालेनले मेयर पदमा निर्वाचित हुँदै गर्दा एक चलचित्रको कार्यक्रममा कोरोना महामारीले प्रभावित चलचित्र क्षेत्रलाई राहत दिन नेपाली चलचित्रलाई लगाउँदै आएको २ प्रतिशत स्थानीय कर मिनाहा गर्न प्रयास गर्ने बताएका थिए । साथै, नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने समेत उनको उद्घोष थियो । तर, यी कुरालाई भने उनले नीति तथा कार्यक्रममा समावेश गरेका छैनन् ।