बेलायतको शेफिल्ड डकफेस्टमा जाँदै पाँच नेपाली महिला निर्माताहरू



काठमाडौं। बेलायतको प्रमूख वृत्तचित्र महोत्सव शेफिल्ड डकफेस्टमा सहभागी हुन पाँच नेपाली महिला चलचित्र निर्माताहरू बेलायत जाने भएका छन् । बेलायतको तास्कोभस्की फिल्म्सको नेतृत्वमा रहेको ब्रिटिस काउन्सिलको जेन्डर फिल्म कार्यक्रम मार्फत नेपाल महिला चलचित्र निर्माताहरु र पामे चलचित्र तथा संगीत महोत्सवको सहकार्यमा यो प्रतिनिधिमण्डल बेलायत जान लागेको जारी प्रेस विज्ञप्तीमा बताईएको छ ।

यो प्रतिनिधिमण्डलले मंगलवार काठमाडौंको चलचित्र विकास बोर्डमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा चलचित्र निर्माताहरु आश्रुति त्रिपाठी, पिंकी श्रीस राना, प्रशंसा केसि, स्मृति बस्नेत र प्रसुना देवी डंगोल बेलायत जान लागेको जानकारी गराईयो । सम्मेलनमा निर्माताहरुले आफुले प्रस्ताव गर्न लागेका चलचित्रको कन्सेप्ट शेयर गरेका थिए ।

यस कार्यक्रमलाई चलचित्र विकास बोर्ड नेपालले सहयोग गरिरहेको छ । यस वर्षको सुरुवातमा फिचर-लम्बाईका परियोजनाहरूमा काम गर्ने महिला निर्माता र निर्देशकहरूका लागि आवेदनहरूको आह्वान गरिएको थियो, जसमार्फत १० विविध नेपाली महिला चलचित्र निर्माताहरूको समूहले फेब्रुअरीदेखि मे २०२२ सम्म भर्चुअल सत्रहरूमा भाग लिएका थिए । पिचिङ (प्रस्ताव), प्रस्तुति कौशल, र व्यावसायिक विकास प्रशिक्षणको दायरालाई बलियो बनाउन मद्दत गर्नका लागि उनीहरूले बेलायतका विशेषज्ञहरूबाट सहजीकरण गरिएका सत्रहरू र प्रत्येकले छुट्टा छुट्टै सल्लाह सत्रहरूमा भाग लिएका थिए । सहभागी मध्ये पाँच जना, ब्रिटिश काउन्सिलको सहयोग मार्फत, कार्यशाला सत्रहरूबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न शेफिल्ड डकफेस्टमा जाने बताईएको छ ।

चलचित्र विकास बोर्ड नेपाल र ब्रिटिस काउन्सिलले सन् २०१९ देखि साझेदारी सम्झौता कायम गरेका छन् र चलचित्र अभिलेखीकरण, क्षमता अभिवृद्धि परियोजनाहरू र लैङ्गिक चलचित्र कार्यक्रमहरूमा सँगै काम गर्दै आएका छन् ।

‘हामी ब्रिटिश काउन्सिलसँग काम गर्न पाउँदा खुसी छौँ र शेफिल्ड प्रतिनिधिमण्डलको प्रवर्द्धनमा सहयोग जारी राख्नेछौँ। विश्वभर र नेपालमा पुरुषको वर्चस्व भएको उद्योगमा हामीले नेपालका महिला चलचित्र निर्माताहरूलाई क्षमता निर्माण गर्न र आफ्नो कामलाई प्रवर्द्धन गर्न सक्ने प्लेटफर्महरूमा उनीहरूले पहुँच प्राप्त गर्न मद्दत पुर्याउनु महत्वपुर्ण हुन्छ भन्ने हामीलाई लाग्छ’, चलचित्र अभिलेख, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी चिरञ्जीवी गुरागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu