‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’बीच व्यावसायिक सम्झौता



लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यावसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते दुई पक्षबीच सम्झौता भएको विज्ञप्ति मार्फत जनाइएको छ । सम्झौतापछि कन्दराको गीत संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए ।

‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं । संगीत पूर्णरुपमा व्यवसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भने, ‘नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो ।’

विवेकका अनुसार, यही वर्ष ब्यान्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ । यसबाहेक नयाँ गीतको तयारी पनि सुरु भइसकेको छ । कन्दराले पहिलो एल्बमको टाइटल ट्र्याक ‘चञ्चले कान्छी’, दोस्रो एल्बमको टाइटल ट्र्याक ‘डाँडापारि’ र तेस्रो एल्बमको चर्चित गीत ‘विदेशिएर गइन् उनी’को रिप्राइज्ड भर्सन निकाल्ने तयारी गरेको छ ।

एनएलई सन् २०१८ देखि स्ट्यान्ड अप कमेडी निर्माणमा अग्रणी संस्था नेपग्याज्मका संस्थापकहरुकै नेतृत्वमा सुरु भएको हो । नेपग्याजम लाइभ इभेन्टका संस्थापकमध्ये एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै कन्दरा ब्यान्डबाट सुरु गर्न पाउनु ठूलो अवसर भएको बताए । नब्बेको दशकमा उदाएको कन्दराका ‘लेककी हे माया’, ‘चन्चले कान्छी’, ‘तिमी पारी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’ जस्ता गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu