निर्देशक रामबाबु गुरुङले चलचित्र ‘कबड्डी ४’मार्फत् नयाँ चलचित्र ‘मास्टर बमकाजी’को निर्माण घोषणा गरेका थिए । तर, यो चलचित्रभन्दा अगाडि उनले नयाँ चलचित्र बनाउने भएका छन् । नाम तय हुन बाँकी रहेको चलचित्रका लागि उनले मुख्य भूमिकामा अभिनेता विपिन कार्कीलाई अनुबन्ध गरेका छन् । बिहीवार दिउँसो उनीहरुबीच कागजी सम्झौता भएको हो ।

विपिनले इन्स्टाग्राम स्टोरीमा एक तस्विर राख्दै आफू रामबाबु गुरुङको चलचित्रमा भित्रिएको जानकारी गराएका छन् । प्राप्त जानकारी अनुसार, निर्देशक गुरुङले ‘बगान’ नाममा चलचित्र बनाउने योजनासहित स्क्रिप्ट तयार पारेका थिए । तर, यो नाममा अभिनेता सरोज खनालले चलचित्र निर्माण गरिसकेका कारण यतिबेला उनी नयाँ नामको खोजीमा रहेको बुझिएको छ ।
विपिनले हालै चलचित्र ‘के घर के डेरा’को केही प्रतिशत छायांकन सकाएका छन् । अब उनले बलिउड चलचित्र ‘एनिमल’का लागि समय छुट्याएका छन् । यो चलचित्रको छायांकन भ्याएर नेपाल फर्किएपछि उनले पाइपलाइनमा रहेको चलचित्र ‘प्रसाद २’को छायांकन गर्नेछ । यसपछि उनले रामबाबु गुरुङको चलचित्रलाई समय छुट्याउने बुझिएको छ ।