‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ गीतमा श्रद्धासँग रोमान्टिक पुष्प



दीपक वली निर्देशित चौंथो चलचित्र ‘कृष्ण लीला’को गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीको विश्वज्योति हलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘ए मेरो हजुर’ बोलको रोमान्टिक गीतमा रवि ओड र सुनिता कार्कीको युगल आवाज सुन्न सकिन्छ भने डिआर उपाध्यायको शब्द रचना तथा बाबुल गिरीको संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

तिलिचो ताल र त्यसमाथिको क्षेत्रमा छायांकन भएको गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री रोमान्टिक अवतारमा प्रस्तुत छन् । भिडियोमा देखिएको तिलिचोलाई हिउँले ढाकेको दृश्यले आँखालाई शित्तल बनाउँछ । लोकेशनले गीतको भिडियोलाई जीवन दिएको छ । भिडियोमा माइकल चन्दको कोरियोग्राफी र उत्सव दाहालको छायांकन छ ।

बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई, आयुषा क्षेत्रीलगायतको पनि अभिनय रहेको चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । चलचित्रमा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । गत वर्ष सार्वजनिक भएको चलचित्रमा समावेश ‘कुनै दिन’ बोलको रोमान्टिक गीत हिट भइसकेको छ । चलचित्रलाई आरआर फिल्मले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu