निर्माणको तीन वर्षपछि चलचित्र ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रबाट अभिनेत्रीको रुपमा क्रिस्टिना गुरुङले डेब्यू गर्दैछिन् । डेब्यू चलचित्रको पखाईमा क्रिस्टिनाले धेरै चलचित्रको अफर अस्वीकार गरेको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन् । अब क्रिस्टिनाको प्रतिभाको बाण सिधा दर्शकको छातिमा लाग्ने उनको दाबी छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘तिम्रो त्यो मेहनत, साधना र धैर्यता सायदै कसैमा होला । मेरो निकटमबाट आएको कयौं प्रोजेक्टलाई आँखा बन्द गरेकी छौ । बस् पहिलो कामको नतिजा आएपछि कसरी यात्रा कसिलो बनाउने भन्ने प्रतिक्षामा छौ । ‘प्रेमगीत ३’मा तिम्रो विकल्प कोही हुन नसक्ने प्रमाणित गरिदएकी छौ । निर्देशकको हिसाबले हेर्दा त्यो पात्रको आत्मा भेटेको छु । आज गर्वसाथ भन्न सक्छु खास प्रेमको गीत तिमी हौ । नेपाली दर्शक मात्र हैन तिम्रो चलचित्र यात्राको सुरुवात नै संसारका कयौं भाषी दर्शकको मनको दैलोबाट हुँदैछ ।’

विभिन्न स्क्रिनिङमा पाएको नतिजाको हिसाबले नेपालसँगै छिमेकी राष्ट्रमा समेत क्रिस्टिनाको पाइला अगाडि बढ्नेमा उनको विश्वास छ । ‘यसरी नै कला, साधनालाई निरन्तरता दिनु, ७ गाउँ र प्रेमको मात्र हैन सारा संसारको ‘गीतु’ हुनेछौ । चलचित्रको गीत अथवा ट्रेलर केही दिनमा रिलिज गर्दैछौं,’ निर्माता सेनले लेखेका छन् । क्रिस्टिना गुरुङलाई अडिसनबाट निर्माण टिमले छनोट गरेको हो ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको चलचित्रमा क्रिस्टिनाको जोडी अभिनेता प्रदीप खड्का प्रस्तुत छन् । चलचित्रमा शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।