काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मसले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित चलचित्र ‘रीत’को छायांकन पूरा भएको छ । दिनेश लिङ्देनको पटकथा, संवाद र निर्देशन रहेको चलचित्रको शनिबार राजधानीमा अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप भएको हो ।
निर्देशक लिङ्देनले चलचित्रमा लिम्बु जातिको विवाहमा हुने संस्कारलाई देखाइएको बताए । चलचित्र ताप्लेजुङको सिनाम, पाँचथर, इलाम र उपत्यकामा समेत छायांकन गरिएको छ । इन्डक्ल्यापमा कलाकार तथा निर्देशक अशोक शर्माले राज्यले नेपाली कला र संस्कृतिको कथामा निर्माण हुने चलचित्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

चलचित्रमा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ इङनाम, सागर केरुङ, याशेली योङ्हाङ, तेज मेन्याङबो, सोनु लिम्बु, पुर्ण सेलिङ, दिनेश माङमु, रत्ना लिङ्देन, राजु घिमिरे, भीम थेबे, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङ, प्रभु कुरुम्वाङको अभिनय छ । होमकुमार लावती, आशा नेम्वाङ र विष्णुकुमार इङ्नाम निर्माता रहेको चलचित्रमा वसन्त थेवे सह—निर्माता र मिक हाङ लिङ्देन प्रस्तुतकर्ता छन् ।
चलचित्रमा मान तबेबुङ र अशोक राईको संगीत, श्रेयसी चेम्जोङ, सुसन साम्सोहाङ र मान तबेबुङको गायन, दिनेश माङमुको कोरियोग्राफी र सुमन तामाङको छायांकन छ । सागर केरुङको कथा र भाषा अनुवाद रहेको चलचित्र आगामी बलिहाङ तङ्नाम (तिहार)मा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।