द्वन्द्वकालको कथा चलचित्रले उठाउनु पर्छ : अनुप बराल



अनुप बराल निर्देशित चलचित्र ‘दोख’ यही असार २४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रले द्वन्द्वकालको कथा भनेको छ । युद्धविरामको १६ वर्षपछि अनुप बरालले द्वन्द्वकालको कथा भन्न किन आवश्यक ठाने ? सोमवार चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको सोधेको प्रश्नमा अनुपले जुनसुकै नाममा युद्ध गरिए पनि त्यसले देश र समाजलाई छाड्ने असर पछि देखिने भएकाले चलचित्रमा त्यही पक्ष देखाएको बताए ।

उनले भने- ‘मैले युद्धमाथि बनेका हलिउडका धेरै चलचित्र हेरेको छु । उनीहरुले युद्धको कथा अहिले देखाउनुको पछाडि म एउटै लजिक के देख्छु भने युद्धले छोडेका डोबबाट मानिसहरु अझै मुक्त हुन सकेका छैनन् । युद्धको घाउले अहिले पनि मानिसहरुलाई अचेटिरहेको छ ।’ द्वन्द्वकालमा ज्यान गुमाएका, जनधनको क्षति भएका र बेपत्ता भएका परिवारको संवेदनालाई साहित्य, गीत, चलचित्रले उठाउनु पर्ने अनुपको तर्क छ ।

‘दोख’ले द्वन्द्वकालको मानवीय पक्षलाई देखाएको उनी बताउँछन् । ‘युद्धले मनोविज्ञान जन्माउँछ र त्यो मनोविज्ञान सबैभन्दा घातक हुन्छ । त्यसले पछि हिंसा र प्रतिशोधको रुप लिन्छ । प्रतिशोधको हिंसा भनेको नकारात्मक हो र त्यसले हामीलाई कहीँ पुर्‍याउँदैन’, निर्देशक बराल अगाडि भन्छन्, ‘प्रतिशोधको बाटोमा हिँडेर हामी कहीँ पुग्दैनौं भन्ने नै चलचित्रको मूल मुद्धा हो ।’

राजन कठेतले लेखेको कथामा निर्माण भएको ‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् । चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu