चलचित्रलाई धितो राखेर सरकारले कर्जा दिनुपर्छ : महासंघ अध्यक्ष गोल्छा



नेपाल उद्योग बाणिज्य महासंघले नेपाली चलचित्रका निर्माताहरुलाई प्रोजेक्ट कर्जा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । मंगलवार महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र चलचित्र निर्माता संघको आयोजनामा भएको ‘चलचित्रको गीत-संगीतको सरोकार, कानुन र करको अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले चलचित्रलाई प्रोजेक्ट कर्जा दिनुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘नेपाली चलचित्रका निर्माताहरुले आफ्नो घर-जग्गा धितो राखेर लिएको ऋणबाट चलचित्र बनाउँदै आएका छन्, जसबाट निर्माताहरुले ठूलो क्षति भोग्नुपरेको छ । सरकारले अन्य राष्ट्रिय प्राथमिकता उद्योगसरह चलचित्रलाई धितो राखेर ५० प्रतिशत प्रोजेक्ट कर्जा दिनुपर्छ र यसका लागि महासंघले पहल गर्छ ।’ नेपाली चलचित्रमा कर्पोरेट लगानी भित्राउनु पर्ने पनि उनको भनाई छ ।

सरकारको नीति तथा कार्यक्रमहरू कार्यान्वयन भए मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने गोल्छाको तर्क छ । उनले कोरोना महामारीका कारण भएको बन्दाबन्दी अवधिको सिनेमा हलको विद्युत् महसुल पूर्ण रूपमा छुट गर्न पनि सरकारसँग माग गरेका छन् । उनले नेपाल प्राकृतिक सुन्दरताले भरिएकोले अन्तरिकसँगै बाह्य चलचित्रको छायांकनका लागि आकर्षणको केन्द्र बन्ने बताए ।

नेपाल सरकारको तर्फबाट सञ्चार सचिव वैकुण्ठ अर्यालले नेपाली चलचित्रले राष्ट्रिय उद्योगको मान्यता पाएकाले अब कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताए । त्यस्तै, निर्माता संघका अध्यक्ष एवं मनोरञ्जन फोरमका संयोजक आकाश अधिकारीले कार्यविधि बनाएर नेपाली चलचित्र उद्योगलाई बलियो बनाउनु पर्ने धारणा राखे । कार्यक्रममा चलचित्र क्षेत्रमा विभिन्न व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu