‘प्रकाश’को ‘जोर मैना’ गीतमा प्रदीप र रेणुको जुम्लेली प्रेम



चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । जुम्लाको परिवेशमा छायांकन भएको चलचित्रको गीतले मुख्य दुई पात्र (प्रदीप खड्का र रेणु योगी) बीचको प्रेम र वर्गिय विभेदका कारण आएको अड्चनलाई प्रस्तुत गरेको छ ।

गीतमा प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् । चलचित्रका दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदीप खड्का) र राधा बिश्वकर्मा (रेणु योगी)को माध्यमबाट गीतले वर्गिय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ । गीतमा समावेश एक संवादमार्फत् वर्गिय विभेदका कारण युवतीको परिवार समेत उनीहरुको प्रेमको खिलाप रहेको बुझाउन खोजिएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu