चर्चित अभिनेता राजेश हमालले राजनीतिक भेटघाट सुरु गरेका छन् । उनले शुक्रवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका हुन् । प्रचण्डको निवास खुमलटारमा भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको चलचित्र निर्माता तथा संगीतकार चेतन कार्कीले जानकारी दिए ।

प्रचण्ड र हमाललाई भेट गराउन मध्यस्थकर्ताको भूमिका चेतनले गरेका हुन् । उनी माओवादी केन्द्रका नेता समेत हुन् । प्रचण्ड र हमालले आमने-सामने भएर कुराकानी गर्दा चेतन पनि साथमा थिए । प्रचण्डसँगको भेटमा हमालले आफ्नो राजनीतिप्रति चासो रहेको बताउँदै भविष्यमा राजनीतिमा आउन सक्ने संकेत गरेको जानकारी प्राप्त छ । प्रचण्डले पनि हमाललाई राजनीतिमा आउन आग्रह गरेका थिए ।
प्रचण्ड र हमालको यो पहिलो औपचारिक भेटघाट हो । रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि विभिन्न चलचित्रकर्मीहरु राजनीतिक लबिङमा जटिरहँदा हमाल राजनीतिक भेटघाटमा जुट्नुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । हमाललाई देशका अधिकांश राजनीतिक दलहरुले आफ्नो पार्टीमा ल्याउन विभिन्न प्रलोभनको कार्ड फ्याकिरहेका छन् । तर, हमाल कुनै राजनीतिक दलप्रति खुलेका छैनन् ।