भदौ २४ मा ‘ऐना झ्यालको पुतली’



सुजित बिडारीको निर्देशनमा बनेको चलचित्र ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फेस्टिभलमा छनौट भइसकेको चलचित्र हो ।

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली चलचित्रको रुपमा इतिहास बनाएको चलचित्रले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो । लेखक तथा निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर चलचित्रतर्फ सुजितको डेब्यू हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए ।

चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । सुजितले किशोरीको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए । ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो चलचित्रको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ,’ सुजितले भने ।

किशोरी र उनको ९ वर्षको भाइबीचको बालसुलभ सम्बन्ध पनि चलचित्रमा मियोको रुपमा रहेको सुजितले बताए । ‘दिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न चलचित्रको महत्वपूर्ण हिस्सा हो । यो सम्बन्धमार्फत् चलचित्रले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनु पर्ने आवश्यकतालाई इंगित गरेको छ,’ सुजितले भने ।

सवा करोड हाराहारीको बजेटमा बनेको चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक चलचित्रका अधिकांश कलाकार नयाँ हुन् ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको चलचित्रलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । चलचित्रमा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu