‘कृष्ण लीला’ पोस्टर : प्रेमिल मुद्रामा पुष्प र श्रद्धा



आगामी भदौ ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘कृष्ण लीला’का दुई गीत ‘कुनै दिन त्यो कथामा’ र ‘ए मेरो हजुर’ले राम्रो चर्चा बटुलेका छन् । यी दुई गीतले चलचित्रको व्यापार बढाउन सहयोग पुर्‍याउने देखिन्छ । यसैक्रममा, निर्माण टिमले शुक्रवार चलचित्रका केही पोस्टरहरु सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीलाई प्रेमिल मुद्रामा देख्न सकिन्छ ।

दीपक वली निर्देशित चलचित्रमा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई, आयुषा क्षेत्रीलगायतको पनि अभिनय छ । शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, माइकल चन्द र रामजी लामीछानेको कोरियोग्राफी, लक्ष्मण सुवेदीको लेखन, श्री श्रेष्ठको द्वन्द्व रहेको चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । चलचित्रमा आफ्नो चरित्रबारे पुष्पले भनेका छन्, ‘चलचित्रमा मैले निर्वाह गरेको अटिज्म क्यारेक्टर हो । उमेरले बढी भए पनि उसको व्यवहार, बोल्ने, हिँड्ने र सोच्ने क्षमता कमजोर छ । यसकारण मेरो क्यारेक्टर दर्शकलाई फरक लाग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu