चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना मन्त्रालयले असार ५ गते एक सूचना प्रकाशित गर्दै आवेदन मागेको थियो । मन्त्रालयले आवेदन दिन चाहनेको हकमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी चलचित्र उद्योगको संरक्षण तथा प्रर्वद्धनमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।
अन्तिममा चलचित्र विकास बोर्डमा राजनीतिक दलको कार्यकर्ता भर्ती हुने भएपनि सञ्चार मन्त्रालयले औपचारिकता पूरा गर्न आवेदन आह्वानको सूचना प्रकाशित गरेको थियो । आवेदन दिने मिति भोली आइतवार सकिँदैछ । आवेदन दिने समय घर्किँदै जाँदा बोर्ड अध्यक्षका लागि आवेदन दिन दिनहुँ चलचित्रकर्मीहरु मन्त्रालय पुगिरहेका छन् । अहिलेसम्म अध्यक्षका लागि आधा दर्जनभन्दा बढीले आवेदन दिइसकेका छन् ।

मन्त्रालयले दरखास्त आह्वान गरेको ५ दिनपछि अर्थात् असार १० गते महिला निर्देशक सम्झना रौनियार उप्रेतीले मन्त्रालय पुगेर पहिलो आवेदन दिएकी थिइन् । त्यसपछि निर्देशक अरुणकुमार प्रधान, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक तथा कलाकार नरेशकुमार पौड्याल, निर्माता सुशिल पोखरेल, अभिनेता भुवन केसी र कलाकार सुष्मा कार्कीले आवेदन दिएका छन् ।
बिहीवार सञ्चारमाध्यमहरुमा अभिनेता भुवन केसीलाई उमेर र शैक्षिक योग्यता अध्यक्ष पदमा आवेदन दिन बाधक बनेको खबरहरु प्रकाशित भएका थिए । तर, त्यही दिन उनले मन्त्रालय पुगेर आवेदन दिएका हुन् । उनको उमेर र शैक्षिक योग्यता पुगेपछि नै आवेदन दर्ता भएको जानकारी प्राप्त छ । उनको उमेर ६६ वर्ष पुगेको भनेर चर्चा भएपनि अहिले उनी ६३ वर्षमा हिँडिरहेका छन् । उनी स्थानीय तहको निर्वाचनको मुखमा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।