फ्रान्सेली चलचित्र ‘दिग्वी’को नेपालमा छायांकन हुने



नेपालमा फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायांकन हुने भएको छ । लोकेशन हेर्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी गरायो । फ्रान्सेली भाषामा निर्माण हुने चलचित्रको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुनेछ ।

३५ दिनको छायांकन तालिकामा नेपाली कलाकारहरुको समेत चलचित्रमा अभिनय रहनेछ । निर्देशक सिमोनले ९० प्रतिशत छायांकन नेपालमा र बाँकी फ्रान्समै हुने जानकारी दिए । पत्रकार सम्मेलनमा उनले भने, ‘धेरै विदेशी मान्छे नेपालमा आउँछन् आध्यात्मिकताको खोजी गर्न । म पनि आएको छु आनन्द र खुसी दिने एउटा चलचित्र बनाउन ।’

निर्देशक सिमोनले छायांकन हुन लागेको चलचित्रले नेपालको पर्यटनलाई पनि सघाउने विश्वास व्यक्त गरे । चलचित्रले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारंगीवादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन चलचित्रको कथावस्तु हो ।

नेपाली पात्रको कास्टिङ चाँडै हुने जनाइएको छ । चलचित्रको नेपाल लाइन प्रोड्युसरमा दिग्विजय भारती र सुरेश अधिकारी छन् । उनीहरुले मार्चदेखि चलचित्रको निर्माण सुरु हुने बताउँदै काठमाडौंका पर्यटकीय सम्पदा र पर्यटकीय थलोमा छायांकन हुने जनाए । चलचित्रले नेपालको पर्यटनमा टेवा पुग्ने भन्दै अर्थपूर्ण र गहिराइको सन्देश बोकेको चलचित्र भएकाले आफूहरुले सहकार्य गर्न लागेको भारतीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu