दुई साताअघि चलचित्र ‘छड्के २’ र गत शुक्रवार सुदर्शन थापाले निर्देशन गर्ने एक बेनामे चलचित्र साइन गरेका अभिनेता अनमोल केसी सोमवार अर्को चलचित्रमा अनुबन्ध भएका छन् । सन् २०१४ मा प्रदर्शनमा आएको आफू अभिनीत सुपरहिट चलचित्र ‘जेरी’को सिक्वेल ‘जेरी २’ मा उनी अनुबन्धित भएका हुन् ।

काठमाडौंको मेरियट होटलमा निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । चलचित्रमा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानी रहनेछ भने ‘जेरी’कै निर्देशक हेमराज विसीले निर्देशन गर्नेछन् । लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको स्क्रिप्ट हेमराजकै हो । अनमोलको तालिका मिलाएर चलचित्रको छायांकन थाल्ने तयारीमा निर्माण टिम छ ।
‘जेरी’मा अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माले अभिनय गरेकी थिइन् । दोस्रो श्रृंखलामा पनि उनी रहने सम्भावना प्रवल छ । निर्माण टिमले केही चरण आनासँग कुराकानी गरिसकेको छ । नेपाल, अमेरिका र अस्ट्रेलियामा छायांकन हुने चलचित्रलाई २०८० सालको दशैंमा प्रदर्शन गर्ने योजना निर्माण टिमको छ ।