लगातार चलचित्र साइन गर्दै अनमोल, पाइपलाइनमा ७ वटा चलचित्र



अभिनेता अनमोल केसीको यस वर्षको सुरुवातमा चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शन भएको थियो । साउथ चलचित्र ‘केजीएफ २’सँगको भिडन्तका बाजवूद पनि चलचित्रले लगानी उठायो । यस लगत्तै अनमोलले नयाँ चलचित्र ‘हनी बनी’ साइन गरेका थिए । तर, एक महिना नवित्दै उनले चलचित्रबाट हात झिके । त्यसपछि एक महिना शान्त देखिएका उनले यतिबेला ब्याक टू ब्याक चलचित्र साइन गरिरहेका छन् ।

गत जेठ अन्तिममा उनले चलचित्र ‘छड्के २’मा काम गर्ने सम्झौता गरे । त्यसको दुई हप्तापछि अर्थात् गत शुक्रवार सुदर्शन थापाको निर्देशन र पूजा शर्माको निर्माणमा बन्ने एक अनटाइटल प्रोजेक्ट पनि उनले साइन गरे । सोमबार उनले आफ्नै हिट चलचित्र ‘जेरी’को दोस्रो श्रृंखला ‘जेरी २’मा पनि काम गर्ने सम्झौता गरेका छन् । उनी लगातार चलचित्र साइन गर्नुलाई कथावस्तु र टिम प्रमुख कारण मान्छन् ।

उनको पाइपलाइनमा यी तीनवटा चलचित्र मात्रै छैनन् । उनको घरभित्रकै तीनवटा चलचित्रहरु ‘पारस’, ‘एन्टी हिरो’ र ‘माइतीघर २’ रोकिएर बसेका छन् भने गत वर्ष उनले बाहिरी ब्यानरको चलचित्र ‘एक्स ९’ पनि साइन गरेका थिए । यो चलचित्रका लागि उनले केही महिना शरीर बनाउन जिममा वर्कआउट पनि गरे । तर, विभिन्न कारणले चलचित्र बन्न सकेन । अब फेरि यो चलचित्रको काम सुरु हुँदैछ ।

यसरी हेर्दा, अहिले अनमोलको पाइपलाइनमा घरभित्र र बाहिरी ब्यानरको गरी ७ वटा चलचित्र छन् । घरको चलचित्र त उनले जहिलेसम्म पनि धकेल्न सक्छन् तर बाहिरी ब्यानरका चार चलचित्रको लागि समय मिलाउन उनलाई सहज पक्कै हुने छैन । त्यसमाथि रिलिज जुध्ने तनाव उत्तिकै रहनेछ । हुनत, अनमोलले यसअघि साइन गरेका केही चलचित्र छाडिसकेकाले यी सबै चलचित्रसँग पनि उनी जोडिएरै बसिराख्छन् भन्ने ग्यारेन्टी छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu