कात्तिक ४ लाई ‘के घर के डेरा’को प्रदर्शन मिति घोषणा, फागुन १९ मा ‘परस्त्री’



दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा’ तिहारलाई लक्षित गर्दै आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको चलचित्र ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागिएको हो ।

घोषणाको समयमा ‘परस्त्री’को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो । अब यो चलचित्रलाई फागुन १९ मा सारिएको छ । शर्मिलाले नेपालीसँगै हिन्दी भाषामा चलचित्र तयार गर्न लागेकाले निर्धारित मितिमा प्रदर्शन गर्न असम्भव भएपछि आफ्नो जेठो छोरा (दीपेन्द्र) को चलचित्रका लागि ‘परस्त्री’को रिलिज डेट सारेको जानकारी दिइन् । ‘परस्त्री’लाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको अभिनय छ । चलचित्रमा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।

‘के घर के डेरा’ले घोषणा गरेको कात्तिक ४ गतेको मितिलाई यसअघि नै तीन ठूला चलचित्र ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ले प्रदर्शन मिति तोकिसकेका छन् । अब यो मितिबाट कुनै चलचित्र टसमस नभए आगामी तिहारमा चार चलचित्रबीच भिडन्त हुनेछ । यी चारवटै चलचित्र दर्शकमाझ प्रतिक्षीत छन् । हुनत, हरेक वर्षको तिहारमा नेपाली चलचित्रबीच भिडन्त हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu