निर्माता भएपछि प्रेसर हुनु सामान्य हो : सौगात मल्ल



अभिनेता सौगात मल्लले चलचित्र ‘दि सिक्रेट अफ राधा’बाट निर्माणमा हात हालेका छन् । यो चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन तयारीमा छ । अरु निर्माताको चलचित्र बग्रेल्ती गर्ने उनी निर्माता भएपछि भने फेरिएका छन् । उनले ‘राधा’का लागि तीन महिना अभिनयबाट ब्रेक नै लिएका छन् । अब उनी यो चलचित्र प्रदर्शन नहुँदासम्म न कुनै चलचित्रको छायांकनमा व्यस्त हुनेछन् न नयाँ चलचित्र साइन गर्नेछन् ।

बुधवार पशुपति क्षेत्रमा ‘राधा’को तिज गीतको छायांकन भइरहँदा सौगात पनि पुगेका थिए । गीतमा उनको सिन थिएन तर, उनी निर्माताको रुपमा उपस्थित थिए । उनी केही प्रेसरमा देखिन्थे । सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले निर्माता भएपछि प्रेसर हुनु सामान्य रहेको बताए । उनले भने, ‘कलाकार र निर्माता हुनुमा फरक हुन्छ नै । निर्माताको रुपमा मलाई यो सिक्ने मौका पनि हो । प्रेसर र दौडधुप त सामान्य हो ।’

‘दि सिक्रेट अफ राधा’ले उठाएको कथामा चलचित्र बन्नुपर्छ भन्ने लागेर लगानी गरेको सौगातको भनाई छ । उनी अगाडि भन्छन्, ‘नेपालमा यस्तो चलचित्र पनि बन्नुपर्छ भन्ने मलाई लाग्छ । यस्तो कथावस्तुमा लगानी गर्ने मान्छेहरु त्यत्ति हुँदैनन् अनि यस्तो चलचित्र पनि बन्नुपर्छ भन्ने भएर लगानी गरेको हुँ ।’ चलचित्रको कथामा सबैले रिलेट गर्न सक्ने र समाजमै देखिरहेको कथामा चलचित्र बनेको उनी बताउँछन् ।

सुवर्ण थापा निर्देशित चलचित्रमा सौगातसँगै सृष्टि श्रेष्ठ, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त लगायतको अभिनय छ । चलचित्रलाई सुवर्णसँग मिलेर सौगातले निर्माण गरेका हुन् । सुवर्णले आमाको सम्झनामा यो चलचित्र बनाएका हुन् । चलचित्रमा उनकै लेखन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu