अनुप भन्छन्, ‘जनयुद्धको उद्देश्यमा ‘दोख’ बनाएको होइन’



रंगमञ्चमा ठूलो नाम बनाइसकेका अनुप बराल चलचित्र ‘फिटकिरी’बाट निर्देशनमा होमिएका हुन् । यो चलचित्रपछि उनले ‘दोख’ निर्देशन गरे । जुन चलचित्र ७ वर्ष अगाडि नै निर्माण भए पनि भोली शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा निर्देशक बरालले माओवादी जनयुद्धको पृष्ठभूमिमा वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलोको कथा पस्किएका छन् ।

अनुप बरालले निर्देशन र अभिनय गरेका चलचित्र हुन् वा नाटक, त्यसप्रति अपेक्षा उच्च हुने गर्छ । ‘दोख’लाई लिएर पनि अपेक्षा ठूलो छ । निर्देशक बराल पनि आफूले गरेका कामप्रति अपेक्षा ठूलो हुने गरेको कुरा स्वीकार गर्छन् । त्यसैले आफूलाई छोएको कन्टेन्टले अरुलाई पनि छुन सक्छ भन्ने विश्वासमा काम गर्ने गरेको उनको भनाई छ । ‘फिटकिरी’भन्दा आफूले ‘दोख’ राम्रो बनाएको पनि उनी बताउँछन् ।

एक भेटमा उनले भने- ‘ममाथिको अपेक्षा पूरा गर्न सक्छु वा सक्दिनँ थाहा छैन । तर, यदी मलाई कन्टेन्टले छोयो भने म जस्तै अरु १० जनालाई पनि छुन सक्छ भन्ने लाग्छ । व्यक्तिगत ग्रोथको हिसाबले हेर्ने हो भने मैले पहिलो चलचित्र ‘फिटकिरी’भन्दा ‘दोख’ केही राम्रो बनाएको छु ।’

युद्धको उद्देश्यमा ‘दोख’ नबनाएको बताउँदै निर्देशक बरालले युद्धको बाछिट्टा, चरित्र, मनोविज्ञान र मनोदशालाई चलचित्रमा प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन् । ‘जति बेला हामीले ‘दोख’ बनाएका थियौं, त्यसबेला द्वन्द्व ताजताजै थियो । त्यसैले पनि त्यो समयमा द्वन्द्वको कथा भन्दा प्रभावकारी हुन्छ भन्ने लाग्यो । अनि, अझै युद्धले छोडेका घाउहरु चलचित्रमार्फत् बाहिर आएका छैनन् जस्तो मलाई महशुस भयो,’ उनले अगाडि भने, ‘हामीले युद्धको उद्देश्य के थियो भन्नका लागि चलचित्र बनाएका होइनौं । एउटा समाजमा युद्धले विभिन्न किसिमको प्रभाव पारेको हुन्छ, त्यो मनोविज्ञानलाई देखाउने प्रयास गरेका छौं ।’

प्रतिशोधबाट अगाडि बढ्यो भने कहिँ पुगिँदैन भन्ने आधारलाई चलचित्रले टेकेको अनुप बताउँछन् । चलचित्रले जनयुद्धको सबै पाटोलाई नदेखाएको र त्यो सम्भव पनि नहुने उनको बुझाई छ । उनी भन्छन्, ‘चलचित्रमा द्वन्द्वको समयमा मानिसले भोगेका मनोदशालाई देखाउन खोजेका छौं । प्रतिशोधबाट अगाडि बढ्यो भने कहिँ पुगिँदैन भन्नेमा चलचित्र अडिएको छ । समाजमा मानिस कसरी कठोर हुँदै गइरहेको छ भन्ने कुरा चलचित्रले देखाउँछ ।’

चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् । राजन कठेतले लेखेको कथामा निर्माण भएको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्र डि. कार्कीले छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu