आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबरी’को ‘चुलबुल चुलबुल’ गीत सार्वजनिक गरिएको छ । बिहीवार गीत केन्द्र मोशनको युट्युबबाट गीत रिलिज गरिएको हो । सार्वजनिक गीतको भिडियोमा चलचित्रका अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी फिचर्ड छन् । गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ ।
‘तीनपाते’, ‘गाला पुक्क’, ‘लजाएर’ जस्ता चर्चित गीतका गायक सुजन चापागाईको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना रहेको गीतमा संगीतकार चापागाई र सुनिता थेगिमकको स्वर सुन्न सकिन्छ । सुजनले पहिलो पटक चलचित्रको गीत गाएका हुन् । गीतको अडियो तथा भिडियो क्वालिटी उच्च देखिन्छ । चलचित्रको यसअघि सार्वजनिक भएको ‘बाबरी रंगमा रंगिएर’ गीतले दर्शकमाझ राम्रो हाइप बनाइसकेको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ । धिरज नाडकर, अभिनेत्री तृप्ती नाडकरका छोरा हुन् । उनले ‘बाबरी’बाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।
बाबरी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेलले नै लेखका हुन् । काठमाडौं, झापा, मोरङ र सिक्किममा खिचिएको चलचित्रमा कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ ।