कात्तिक २५ मा ‘ह्यारी की प्यारी’, जितु र साम्राज्ञीको यस्तो अवतार



डा. कपिल रिजालको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रवार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरेको हो । पोस्टरमा चलचित्रका मुख्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह प्रस्तुत छन् । चलचित्रले उनीहरुको विवाहको कथा भन्ने पोस्टरले संकेत गर्छ ।

पोस्टरमा जितु ढाका टोपी लगाएर नौमती बाजा बजाउँदै देखिएका छन् भने साम्राज्ञी रातो लेहंगामा बेहुली झैं सिंगारिएकी छन् । जितु र साम्राज्ञीको रोचक केमेस्ट्रीले चलचित्रप्रति उत्सुकता जगाउने देखिन्छ । जितुले चलचित्रमा आफूले अहिलेसम्मकै चुनौतीपूर्ण भूमिकामा अभिनय गरेको दाबी गरेका छन् । त्यस्तै, साम्राज्ञी चलचित्र जति नै पुरानो हुँदै गएपनि दर्शकलाई ताजा लाग्ने बताउँछिन् ।

चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । चलचित्रमा नायिका रेखा थापाको केमियो भूमिकामा प्रस्तुत छिन् । डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा कथा रिजाल स्वयं, पटकथा तथा संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा। रिजाल र अभिमन्यू निरवीले लेखेका हुन् ।

चलचित्रमा भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । डा. कपिल रिजाल, डा. भोला रिजालका छोरा हुन् । कपिलले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu