‘परदेशी २’को टिजर रिलिज, असोज १४ लाई प्रदर्शन मिति घोषणा



नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति समेत तय गरेको छ । आगामी दशैंलाई लक्षित गर्दै असोज १४ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । साढे २ मिनेटको टिजरमा भने चलचित्रका मुख्य कलाकारहरु प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतलाई प्रस्तुत गरिएको छ ।

‘परदेशी २’ गायक प्रकाशको डेब्यू चलचित्र हो । त्यसैले हुनसक्छ, टिजरमा उनले नै बढी ‘स्क्रिन स्पेश’ पाएका छन् । उनको नेपालमा केकी अधिकारी र अमेरिका गएपछि वर्षा सिवाकोटीसँग फक्रिएको प्रेमलाई देखाइएको छ भने अभिनेता प्रशान्त तामाङ्ग आर्मीको भूमिकामा प्रस्तुत छन् । यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको टिजरले प्रस्ट्याउँछ ।

नारायण इन्टरनेशनलको प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् । चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ ।

बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी रहेको छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ । चलचित्रलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन् भने दीर्घ खड्काको सम्पादन छ । चलचित्रको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu