साम्राज्ञी र गरिमाले लण्डनबाट सुरु गरे ‘लण्डन टू पेरिस’को छायांकन



घनश्याम लामिछानेले क्याप्टेनसिप सम्हालेको चलचित्र ‘लण्डन टू पेरिस’को छायांकन सुरु भएको छ । शुक्रवार लण्डनमा चलचित्रको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । चलचित्रका प्रमुख कलाकारहरु साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू चलचित्र हो । गरिमाले यसअघि दर्जनौं म्यूजिक भिडियोमा काम गरिसकेकी छन् ।

चलचित्रको छायांकनका लागि चार जना कलाकारको टोली यसै साता लण्डन प्रस्थान गरेको थियो । निर्देशक लामिछानेसहितको टोली भने केही हप्ता अगाडि नै छायांकनको चाँजोपाँचो मिलाउन लण्डन पुगिसकेको थियो । ट्राभल लभस्टोरीको कथामा बन्ने चलचित्रको सम्पूर्ण छायांकन बेलायत र फ्रान्समा हुनेछ । चलचित्रमा साम्राज्ञीको जोडीको रुपमा नव-नायक निश्चल प्रस्तुत हुनेछन् ।

छायांकनअघि कलाकारलाई एक महिना रंगकर्मी सरिता गिरीले वर्कसप गराएकी थिइन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यसअघि प्रदीपले लेखेको कथामा घनश्यामले चलचित्र ‘पञ्चेबाजा’ बनाएका थिए । चलचित्रको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह-निर्मातामा अजित सिंह छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu