‘प्रकाश’मा हलो जोत्दै देखिएका प्रदीप



लभस्टोरी भूमिकामा रुचाइएका अभिनेता प्रदीप खड्काले आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रकाश’मा जुम्लाको एक विपन्न परिवारको युवकको भूमिकामा अभिनय गरेका छन् । द्वन्द्वकालमा हराएका पिताको सपना साकार गर्न उनले गाउँको सरकारी विद्यालयमा शिक्षक बन्न गरेको संघर्षको कथामा चलचित्र आधारित छ । चलचित्रका निर्देशक दिनेश राउत हुन् ।

निर्माण टिमले सार्वजनिक गरेको टिजर, गीत र पोस्टरमा प्रदीपको लुक्स दर्शकका लागि सरप्राइज बनेको थियो । किनकि, प्रदीपले यसप्रकारको भूमिका निर्वाह गर्न सक्छन् भन्ने विश्वास उनका प्रशंसकहरुलाई पनि थिएन । होस् पनि कसरी, उनले अहिलेसम्म आफूलाई रोमान्टिक चरित्रमा मात्र सीमित राखेका थिए । उनले ‘प्रकाश’मा बाँचेको चरित्र उनको ‘कम्फर्ट जोन’भन्दा बाहिरको हो ।

निर्माण टिमले आइतवार चलचित्रभित्रका दुई तस्विर सार्वजनिक गरेको छ । तस्विरमा प्रदीपले हलो जोतिरहेका छन् । टाउजर र सर्ट लगाएर हलो जोतिरहेका प्रदीपलाई हेर्दा लाग्छ उनी चरित्रमा बाँच्न सक्ने कलाकार हुन् । त्यसो त टिजर र गीतमा प्रदीपले गरेको मेहनत देखिसकेको छ । सामाजिक सञ्जालहरुमा प्राप्त प्रतिक्रिया हेर्दा प्रदीपको परिवर्तित स्वरुप हेर्न उनका फ्यानहरु आतुर देखिन्छन् ।

चलचित्रमा प्रदीपका अलावा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu