विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भएर रेड कार्पेटमा हिँड्ने विश्वभरका सेलिब्रेटीको ठूलो सपना हुन्छ । अभिनेत्री सुरक्षा पन्त त्यो भाग्यमानी नेपाली अभिनेत्री बनिन्, जसले कान्समा सहभागी हुनुका साथै रेड कार्पेटमा हिँड्ने मौका पनि पाइन् । आफूले अभिनय गरेको अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ कान्सको प्रतिस्पर्धामा छानिएकाले उनले रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइन् ।
कान्सको रेड कार्पेटमा हिँड्ने उनी पहिलो नेपाली अभिनेत्री समेत हुन् । यसअघि अभिनेत्री प्रियंका कार्की कान्समा सहभागी भएपनि रेड कार्पेटमा हिँड्न पाएकी थिइनन् । सुरक्षा पन्तले भने विश्व प्रख्यात सेलिब्रेटीहरुले पाइला नापिसकेको रेड कार्पेटमा हिँडेर कान्सको सभा हलमा प्रवेश गरेकी थिइन् । सुरक्षाले रचेको यो इतिहासको बारेमा लोकसेवा आयोगले समेत प्रश्नपत्रमा समेट्न थालेको छ ।
अधिकृत क्याडेट पदको प्रश्नपत्रमा सोधिएको छ- ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ?’ उत्तरमा अभिनेत्रीहरु प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धरको नाम उल्लेख छ । अभिनेत्री पन्तले फेसबुकमा पोस्ट गरेको प्रश्नपत्रमा परिक्षार्थीले उनकै नाममा गोलो लगाएका छन् । लोकसेवाको परिक्षामा एउटा उत्तर हुन पाएकोमा उनले खुशी व्यक्त गरेकी छन् ।