हरिहर र नीताले हनिमुनसँगै चलचित्रको तयारी गर्ने



करीब ३ वर्ष लामो प्रेम सम्बन्धपछि गत शुक्रवार अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना बैबाहिक जीवनमा बाँधिए । विवाहको दुई दिनपछि आइतवार उनीहरुले काठमाडौंको पाँचतारे होटल याक एन्ड यतिमा भव्य रिसेप्सन पार्टी दिए । पार्टीमा काठमाडौंका मेयर बालेन शाहदेखि अभिनेता राजेश हमालसम्म नव-विवाहित जोडीलाई बधाई दिन पुगेका थिए ।

रिसेप्सन पार्टीमा नीता र हरिहर दुवैले रंग मिलाएर पहिरन लगाएका थिए । हरिहर गाढा पहेंलो रंगको सुट-बुटमा ठाटिएका थिए भने नीताले आकर्षक लेहंगा लगाएकी थिइन् । उनको सिउँदोमा सिन्दूर छपक्क थियो । दुवैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाएकोमा खुशी व्यक्त गरे । विवाह बन्धनमा बाँधिँदै गर्दा रमाइलो, अनौठो, नर्भस, जिम्मेवारी सबै खालको भावना मिश्रित हुने नीताले बताइन् ।

बेहुली भएर श्रीमानको घर भित्रिँदाको क्षण सम्झँदै नीताले भनेकी छन्, ‘लक्ष्मीको रुपमा मलाई घरमा भित्राउनुभयो । हरिहरजीको परिवारबाट धेरै माया पाएको छु र धेरै जिम्मेवारी पनि बहन गर्दिनुभएको छ । लक्ष्मीको रुपमा श्रीमानको घरमा भित्रिएको छु । अब त्यो घरका लागि के गर्ने भन्ने कुरा दिमागमा आउँदो रहेछ । म श्रीमती, बुहारी र भाउजुको नाताले आफ्नो कर्तव्य निर्वाह गर्नेछु ।’

हरिहर र नीताले हनिमुनका लागि घुम्न निस्कने प्लानिङ पनि भइरहेको बताए । तर, हनिमुनभन्दा अगाडि निर्माणको तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को काम अगाडि बढाउने नीता बताउँछिन् । चलचित्रबाट फुर्सद मिले हनिमुनमा निस्कने उनको भनाई छ । तर, हनिमुन देशभित्र वा देशबाहिर भन्ने बारेमा नसोचेको उनले बताइन् । बच्चाको योजनाबारे भने हरिहर र नीता बोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu